My Blog List

Thursday, December 31, 2009

मुना

मेरो सानो कुराले पनि उसको मन सायद रुन्थ्यो होला । त्यसैको वहस्वरुप अनुहार अँधेरो हुन्थ्यो । उसको अर्थात मुनाको ।
मुना अलि चाडै रिसाउँथी । रिसाउँदा अझै ऊ राम्री देखिन्थी । त्यही भएर म विरालोले मुसा खेलाएझैं जिस्काएर अझ रुवाउने चेष्टा गर्दथे मायालु पारामा । उसको अनुहार मलाई ठ्याक्कै पि्रयंका चोपडाको जस्तो लाग्थ्यो । उसले पि्रयंकाको नाम सुनेकी थिई-थिइनन् तर म भने उसको अभिनय भन्दा पनि रुपमा आकर्षित मात्र नभएर हुरुक्कै हुन्थेँ ।
एक दिन उसको मन चोर्न मैले मायाको कुरा गरेको थिएँ । त्यसपिछ मात्र मैले थाहा पाएको थिएँ । उनी पनि मलाई माया गर्दिरहिछिन् भनेर । समयको गतिसँगै हाम्रो सामिप्यता बढ्दै गइरहेको थियो । अझ भनौं स्पर्श र न्यानो आलिङ्गनमा हाम्रो भेट बित्न थालेको थियो । अविवाहित भए पनि विवाहित जस्तै व्यवहार हुन्थ्यो हाम्रो ।
खै कसरी हाम्रो माया गढ्यो पत्तै भएन । उसको र मेरो पढाईको लेवल पनि मिल्दैन थियो । जात पनि मिल्दैन थियो । मलाई प्रेम प्रस्ताव मेरो सहपाठी सजातीय मीत्रले पनि राखेकी थिईन् तर हाम्रो नाता बढ्न सकेन केबल साथीको नाता भन्दा माथि । सायद त्यसैले होला कोही भन्थे - प्रेम अन्धो हुन्छु कोही भन्थे -लेखेको मात्रै हुन्छ देखेको हुँदैन । कताकता हो जस्तो पनि लाग्छ ।
मुना मलाई माया त गर्थिन । त्यतिकै घृणा पनि गर्ने हो कि भनेर डर लागिरहन्थ्यो मलाई । किनकी म बेरोजगार थिएँ । हुत्तिहारा थिएँ । हरिलन्ठक थिएँ । लठीभुत्ते थिएँ । म भावुक हुन्थे । बल्लबल्ल एस। एल। सी। गरेका साथीहरु कोही वोर्डिङ्गकै भए पनि टिचर कोही फ्याक्ट्रीका खरदार कोही भने मलेशियाको मूढो चिरे पनि अरवको वालुवामा बेल्चै चलाए पनि विदेशी लाहुरे भइसकेका थिए । घोत्लिन्छु । जिन्दगी बेरोजगारीको नायकै भएर वित्ने भो । मेरो जीवन नदी किनारको वगर हुने भो । यो जमाना त जागिर खान ठाउँ-ठाउँमा आफ्नो मान्छे हुनु पर्ने । कि त पैसा पेल्न सक्नु पर्ने । नत्र भने जागिरको नियुक्तीः पाउन संसारको आठौं मात्र नभएर नवौं आश्चार्य थियो । सोस्र लगाउनलाई यो संसारमा मेरो म आफैँ भन्दा अरु कोही छैन । फोस्र लगाउनलाई आफैँ कङ्गाल । अनि म कसरी संसारको नवौं आश्चार्यमा पर्न सम्भव हुँला मसँग जता हेरे पनि धोका र असफलताको लाइन थियो ।
मुनाले मलाई धोका दिन्छिन् कि भेनेर कताकता डर लागिरहन्थ्यो । म उसलाई अति चाहान्थे । उनले चाहिँ बोक्रे मायमा गरेको हो कि भन्ने शंका लागिरहन्थ्यो मलाई । कहिलेकाहीँ सोच्थे यो प्रेम अगाडी बढाउन भनेको नदुखेको टाउको कपालमा डोरी लगाएर दुखाउनु त होइन तर के गर्नु माया वैगुनी नभई नहुने ।
घरको त कुरै गर्नु परेन पिडीत अति पिडीत मानसिक रुपमा । मेरा पिताजी दोस्री अर्धाङ्गिनी च्यापेर राजधानी जिराजमान थिए । आमा लेाग्नेले हेला गरेको असहाय गाउँकी अनपढ आइमाई थिइन् । हाम्रो समाजमा लोग्नेले हेला गरेपछि कसैको पनि प्यारो हुँदो रहेनछ । भाइ नि।मा।वि। पढ्दै गरेको नावालक थियो ।
सिरानी मुनी ग्रयाजुयटको प्रमाणपत्र डिग्री हाँसिल गर्दै गरेको एक हृष्टपुष्ट खाइलाग्दो २२ बर्षे युवक वेकामी भई अभागी र क्षमता नभएको खोक्रो वीउ निकालिएको तोरियाँको जालो हुने सौभाग्य मैले पाएको थिएँ । प्रमाणपत्र पेश नगरेको र मेरो पाइला नपरेको सायद नेपालमा कार्यालय नै छैन होला । फाराम भर्ने जाँच र अन्तर्वार्ता दिनेको त पी।एच।डी।धारी नै भइसकियो । जागिर खान वीरवल र अकवरको खिचडीको कथा जस्तै भयो ।
मेरो जीवन अधोगतिमा चल्दै थियो । कहाली लाग्दो जीवन डोर् याएर खोच्याउँदै असफलताको बाटो हिड्दैछु । मलाई आफ्नै छायाँले तिरस्कार गरे जस्तो लाग्न थाल्यो ।
म आफ्नो झोलामा भएको प्रमाणपत्रको खात हेर्छु । खुइय गर्छु । तर कताकता गर्वले छाती फुले जस्तो पनि हुन्छ । हातभरि प्रमाणपत्र त छ नि । कल्पना गर्छु । यो मेरा प्रमाणपत्रको काम आउने दिन कहिले आउला कहिले हामी जस्ता बेसहारा गरीवका छोराछोरीहरुको दिन आउला आफ्नो योग्यता र क्षमता अनुसारको जागिर आफ्नै देशमा खान पाए म कति हर्षित हुन्थे हुँला । म कति गर्वित हुन्थे हुँला । मेरी आमाको शीर कति उँचो हुन्थ्यो होला । अझ भन्नु पर्दा खाइ नखाइ आमाले म माथि गरेको लगानी सफल भएको महशुस म गर्ने थिएँ । मेरी आमाले गर्ने थिइन् । अनि वीस ठाउँमा टालेको चोली फेर्न र एउटा सारीलाई एउटै बनाएर लगाउनलाई दिन सक्थे । भाइलाई टेक्निसियन बनाउन सक्थे । उसले मैले जस्तो झोलाभरि योग्यताको खोस्टा बोकेर जुत्ताको तलुवा फाटुन्जेल र तालुको रौं झरुन्जेल जिन्दगीको रथ चलाउनको लागि जागिर खोज्नु पर्दैन थियो ।
गाउँमै म हल्लिएर िहंडेको देख्दा सबैजना मेरा कुरा काट्थे । कस्तो हुतिहारा रहेछ है । एउटा जागिरमा झुण्डिन नसक्ने । यत्रो पढालेखा मान्छे नेताहरुको पछि लाग्नु । भनसुन गर्नु । कति बूढी आमाको थाप्लोमा गीर खेल्न सक्या होला हुन पनि हो ती बूढी आमाले नै तीन जनाको सास धानेकी थिइन् । गाउँघरतिर काम गर्न म मानहानी भएको अनुभव गर्थे । तर नेताको पछि पनि नलागेको कहाँ हो र म । महिनामा सरकार फेरिन्छ । सरकारमा रहुन्जेल उनकै भाइ-भतिजा र भााजा-भााजीहरु सात पुस्तादेखिको बेरोजगार हाम्रो पालै नआउने । सरकार फेरिए पछि नेता बेपत्ता आफू लुरुलुरु रुझेको मुसो भएर घरतिर फर्किनु परिगो । के गर्नु कर्मै खोटो आफ्नो त । भाग्यलाई दोष दिन्छु । सँगै पढेका साथीहरु हाकिम भए । टाईकोटमा सजिएर घुमाउने कुसर्ीमा बसिरहेछन् । मनमनै डाहा लाग्छ । तर म पनि बस्थे हुँला नि ! तिनीहरुको जस्तो बुवा संस्थानको म्यानेजर मामा मन्त्रालयको सचिव काका प्राधिकरणको निर्देशक भए त होइन र आफैंलाई सोध्छु । सान्त्वना दिन्छु आफैलाई ।
दिन ढल्दैछ । रात जाँदैछ । समयको चक्र घुम्दो छ । सास रहुन्जेल आश भने झैं पापी समयले कहाँ पुर्याउँछ हेर्नुछ । मलाई लाग्छ मेरो जीवन एउटा चिडियाखाना हो जहाँ दुःखै-दुःख पालेर राखिएको छ ।
मुना पनि पहिला जस्तो नभएर अलि टाढिन खोजे जस्तो लाग्न थाल्यो । भेटघाट पनि पातलिदै गयो । देखे पनि नदेखे जस्तै गर्न थालिन् । के कारणले यस्तो भयो होला के गरिवी कै कारणले होला त म वी।पी लिखित दोषी चश्माको केशवराज जस्तै एकोहोरीन थालें कारण पत्ता लगाउनलाई ।
हुन त म भन्दा उनी खानदानिया थिइन । उसको नातेदारहरु जागिरका ठुला-ठुला पोष्टमा हुनुको साथै उनी म भन्दा ठुलो जातकी पनि थिइन् । उसलाई सानोतिनो जागिर खान कुनै ठुलो महाभारत थिएन । त्यसैले ऊ मेरो भन्दा माथि हैशियत भएको घमण्ड गर्थी । अर्थात मुना एक्काइसौं शताव्दीको पक्का आधुनिक केटी थिइन् । गरिव र कमाई नभए पछि अहिलेको दुनियाँमा कोही पनि आफ्ना हुँदारहेनछन् । सबै जना बलेकै आगो ताप्ने रहेछन् ।
मेरो साथ कोही रहेनन् यहाँ । बस् हण्डर गोत्ता र अभाव बाहेक । जसरी भएपनि मैले यी सबैलाई हटाउनु छ । मेरो नाम समाजमा स्थापित गराउनु छ । मेरो आमाले देखेको सपना साकार पार्नुछ ।
विस्तारै मलाई आफ्नै देशमा काम पाउने र देशको सेवा गर्न पाउँछु भन्ने विश्वास लाग्न छाड्यो । त्यसैले अर्कैको देशलाई उभो लगाउन र विदेशीलाई स्याहार गर्नै भएपनि बिदेश जाने निधो गरेँ र ऋण काढेर लागें विदेशतिर ।
म विदेश आएको ६ महिना पछि मुनाको एक धनाढ्य जागिरे केटासँग विवाह भएको सुनें । पृथ्वी घुमेजस्तो लाग्यो । छटपटी भयो ा रातभरी निन्द्रै लागेन । अनेक दृष्यहरु घुमिरह्यो आँखा वरिपरी । धेरै कुराहरु खेलिरह्यो मनभित्र । उसलाई भुल्न गाह्रो भयो मलाई । तर उनी हाँसी खुशी नै छिन् भन्ने सुनेर थोरै भएपनि मनलाई शान्त्वना मिल्यो । मेरो आवश्यक्ता ऊ भएपनि म उसको आवश्यक्ता कहिल्यै हुन सकिन । यो सबै हुनु भनेको गरिव हुनु हो भन्ने निर्णय मेरो मनले गर्यो । त्यो केटीहरुको लागि माया भन्दा ठुलो धनै हुदोरहेछ भन्ने कुरा उनले प्रमाणित गरेर देखाई दिइन् ।
आज म विदेश आएको पनि ४ बर्ष भइसक्यो ा सायद बेरोजगारी उत्पादन गर्ने ठाउँमा वैज्ञानिक प्रविधिहरुमा लगानी गरेर फ्याक्ट्रीहरु स्थापना कृषिमा विविधिकरण र वैज्ञानिकीकरण गरिदिएको भए म जस्ता युवाहरु आज यसरी ऋण काढेर साहूसँग विदेशिनु पर्दैन थियो होला । के गर्नु हाम्रा नेताहरुले नेपाललाई वेरोजगारी उत्पादन गर्ने फ्याक्ट्री नै वनाएर छाडे । महान भए हाम्रा नेताहरु । अलिकति आक्रोशित हुन्छ ।
विदेश आउन लिएको ऋण जसोतसो तिरियो वाँकी व्यवहार जस्ताको तस्तै । फेरि एकपल्ट मेरी आमाको सपना तुहिए जस्तो लाग्यो । मेरी आमाले कति सपना देखेकी थिइन होला । मेरो पढाइको स्तर बढ्दै जाँदा र घरबाट पैसा कमाउन विदेशतिर हिड्दा । जे भए पनि मनलाई सान्त्वना दिन महिनै पिच्छे एकपटक आमासँग कुरा गर्छु । तर मुनासँग आजसम्म एकपटक पनि कुरा हुन सकेन ा होला अलिकति उनले अलिकति मैले नचाहेर । ऊ अहिले मेरो सम्झनामा मात्र छिन् मात्र सम्झनामा । उनले चटक्कै विसेर पनि मैले भुल्न सकेको छैन । ती अतीतका पलहरुलाई । त्यही सम्झना स्वरुप एकपल्ट तिमीलाई स्वर्णिम भविष्यको शुभ कामना छ है मुना ।

No comments: